कैलाली, वैशाख २१ – कैलालीको घोडाघोडी नगरपालिका–९, रामशिखरझालामा शनिबार राति अचानक लागेको आगोले दुई घर पूर्णरूपमा नष्ट पार्दा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
स्थानीय सुके रावलको घर र गोठमा राति आगलागी हुँदा झण्डै १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। आगलागीबाट रावलको सम्पूर्ण घरायसी सामग्री, लत्ताकपडा, अन्नपातलगायत सबै जलेर खरानी भएको छ।
सोही घटनामा स्थानीय मनोज रोकायाको गोठमा पनि क्षति पुगेको छ। उनको गोठमा रहेको करिब तीन लाख रुपैयाँ बराबरको सम्पत्ति जलेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा दमकलको सहयोगबाट आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











