कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको केही मिनेटमै मृत्यु भएको छ।
सोमबार बिहान टाउको दुखेपछि शाही नजिकैको दहित मेडिकल पुगेका थिए। मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौंमा रहेकाले त्यहाँ कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले उनलाई उपचार गरेका थिए। चौधरीले ‘जन्डिस भएको’ भन्दै शाहीलाई एउटा सुई लगाएपछि केही मिनेटमै उनको निधन भएको बताइएको छ।
त्यही मेडिकलमा झाडापखाला उपचार गराउन गएका खडकबहादुर साउँदले भने, “मलाई सलाइन चढाइयो, त्यसपछि निरज दाइलाई इन्जेक्सन दिइयो। इन्जेक्सन दिएकै केहीबेरमा उहाँले खोक्न थाल्नुभयो। खोक्दा खोक्दै मुखबाट फिँज आयो र एकाएक छटपटिन थाल्नुभयो।” उनले बिरामीको अवस्था गम्भीर देखिएपछि सोधपुछ गर्दा ल्याब असिस्टेन्टले ‘कहिलेकाहीँ यस्तो हुन्छ’ भन्दै कृतिम श्वास दिने प्रयास गरेको तर सफल नभएको जानकारी दिए।
मृतक शाहीका ससुरा रामबहादुर शाहीले भने, “हामीले बिहान सँगै चिया खाजा खाएका थियौं। छोराछोरीलाई स्कुल छोडेर टाउको दुखेको भन्दै मेडिकल जानुभएको थियो। केही समयमै उहाँको मृत्युको खबर आयो। केही नभएका ज्वाईंको अचानक मृत्यु कसरी भयो? सुई लगाउने व्यक्ति किन भाग्यो? हामी न्याय चाहन्छौं।”
इन्जेक्सन लगाएको केही क्षणमै ल्याब असिस्टेन्ट महावीर चौधरी फरार भएका छन्। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुखडबाट डीएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।
डिएसपी अवस्थीका अनुसार शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने फरार चौधरीको खोजी कार्य जारी छ। घटनास्थलमा अहिले मृतकका आफन्त र स्थानीय बासिन्दाको भिडभाड देखिएको छ।











