बझाङ / बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अभियोगमा तत्कालीन अध्यक्ष रोकाया, वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, लेखापाल मदनराज जोशी, र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया परेका छन्।
उनीहरूले सिम्लका घट्ट सिँचाइ कुलो योजनामा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी कार्य सम्पन्न गरेका थिए। तर, आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको पाइएको छ।
अख्तियारका अनुसार उनीहरूमाथि जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।











