सिलगढी असार ११ / देशका विभिन्न भूभागमा मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी प्रभाव सक्रिय रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम आंशिक बदलीसहित खुला रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा बादलको मात्रा बढ्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
उता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी कायम रहने देखिएको छ। महाशाखाले ती क्षेत्रका केही स्थानमा तातो लहरको प्रभाव रहन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि गर्मी बढ्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ भने अन्य अधिकांश क्षेत्रमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूले चट्याङ, वर्षा तथा तातो लहरको प्रभावबाट बच्न सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेका छन्।











