युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको शय्यामा नौसरा रावल।

बच्चा जन्माउन डोटीको सुजङ अस्पताल पुगेकी नौसरा रावल शल्यक्रियापछि सिकिस्त भइन्। उपचारका लागि काठमाडौं ल्याइएकी उनी कलेजो र दुवै मिर्गौलाले काम गर्न छाडेपछि झन समस्यामा परेकी छन्।

मंसीर १ आउनै लाग्दा डोटीकी २५ वर्षीया नौसरा रावलको मनमा केही डर, केही खुल्दुली थियो। चिकित्सकले उनलाई सुत्केरी व्यथा लाग्ने भनी त्यही दिन तोकिदिएका थिए। जीवनकै पहिलो सन्तानलाई स्वागत गर्न पति हर्कबहादुरले आवश्यक तम्तयारी भ्याइसकेका थिए। तर नौसरालाई ५ गतेसम्म पनि व्यथा लागेन।

त्यसपछि रावल दम्पती जिल्लाकै राजपुरस्थित सुजङ अस्पताल पुग्छन्। अघिल्लो दुई पटकको नियमित जाँच उनीहरूले यही अस्पतालमा गराएका थिए। चिकित्सकले थप एक दिन हेर्ने भन्दै निगरानीमा राखे।

हर्कबहादुरका अनुसार भोलिपल्ट दिउँसो १२ बजे चिकित्सकले पाठेघरका पाँच वटा घर मात्र खुलेकाले ‘नर्मल डेलिभरी’ का लागि पर्खनु जोखिमपूर्ण हुने भन्दै शल्यक्रिया गर्नुपर्ने बताए। अनि दिउँसो २ बजे शल्यक्रिया गरेर नौसराको गर्भबाट बच्चा निकालियो।

यो शल्यक्रिया डा. सुवास थापा मगरले गरेका थिए। दुई वर्षदेखि त्यहाँ कार्यरत उनी ‘जनरल सर्जन’ हुन्। शल्यक्रियापछि नौसरालाई अत्यधिक रक्तस्राव हुन थाल्यो। दोस्रो दिनदेखि पखाला शुरू भयो। रगतको कमी भएको भन्दै एक पोका रगत पनि चढाइयो।

“औषधिले डायरिया रोकिए पनि तेस्रो दिनदेखि शरीर काम्ने, पेट दुख्ने र पिसाब नआउने समस्या देखियो,” हर्कबहादुर भन्छन्, “त्यसपछि त्यहाँबाट डडेल्धुरा अस्पताल लग्यौं।”

बिरामीको जटिल स्थिति देखेर डडेल्धुरामा भर्ना नै लिन नमानेपछि त्यहाँबाट फेरि धनगढीको नोवास अस्पताल पुर्‍याइयो। त्यहाँ पनि उपचार सम्भव नभएपछि सेती अस्पताल पुर्‍याइयो। “नोवासले आफूकहाँ एक जना मात्र डाक्टर रहेको, यो समस्या हेर्ने अरू डाक्टर पनि चाहिने भन्दै उता पठायो,” हर्कबहादुर भन्छन्।

सेती अस्पतालमा परीक्षण गर्दा नौसराको मिर्गौला र कलेजोले काम गर्न छाडेको देखियो। जन्डिस देखिएको र प्लेटलेट्स पनि कम हुँदै थियो। तब सेतीले पनि थप उपचार गर्न असमर्थता जनाउँदै काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा रिफर गर्‍यो।

सेती अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्र भट्टका अनुसार नौसरालाई मंसीर ९ गते अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ आउँदा नै शरीरका धेरै अंगले काम नगर्ने अर्थात् ‘मल्टिअर्गान फेलियर’ भइसकेको थियो। शरीरभरि रक्तस्राव थियो। “यस्तो स्थितिमा जति रगत चढाए पनि फुट्ने हुन्छ,” उनी भन्छन्, “मिर्गौलाले काम गर्न छोडेका थिए। यहाँ कैयौं पटक डायलासिस गर्दा पनि नभएपछि रिफर गर्‍यौं।”

हर्कबहादुरका अनुसार उनले सेतीका डाक्टरलाई यस्तो किन भयो भनी सोध्दा जुन जवाफ पाए, त्यसबाट उनमा सुजङ अस्पतालले नै केही तलवितल पारेको शंका पर्‍यो। “सेतीका डाक्टरले हामीले केही भन्न मिल्दैन, नत्र तिमीहरू उता गएर झगडा गर्छौ भन्नुभयो,” उनी सुनाउँछन्।

सुजङ अस्पतालका डा. सुवास पनि शल्यक्रियाअघिको परीक्षणमा नौसराको स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्विकार्छन्। “यहाँ हामीले सक्दो प्रयास गरेकै हौं। उनका दुवै मिर्गौला खराब भएको कुरा सेतीमा पुगेपछि मात्र थाहा पायौं,” उनी भन्छन्।

शिखर नगरपालिका-८ का बासिन्दा हर्कबहादुरका अनुसार काठमाडौं ल्याएपछि पनि पत्नीको स्वास्थ्यमा सुधार देखिएको छैन। मिर्गौलाको बायोप्सी परीक्षणका लागि पठाइएकामा मंसीर १६ गते आएको पहिलो रिपोर्टमा यसको एउटा कारण ‘सिजरियन डेलिभरी’ औंल्याइएको छ। अर्को रिपोर्ट आउन अझै समय लाग्ने बताइएको छ। हर्कबहादुर निन्याउरो अनुहार लगाउँदै भन्छन्, “घरमा सानो बच्चा छ, के कसो गर्ने थाहै पाउँदैन म कहिलेकाहीं त।”

चिकित्सकले नौसराको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन्। अर्को रिपोर्ट आएपछि फेरि आउन भन्दै अस्पतालले बुधबार नौसरालाई डिस्चार्ज गरिसकेको छ। तर हर्कबहादुर अब कसो गर्ने भनेर रनभुल्लमा छन्।

अर्कातिर कमजोर आर्थिक अवस्थाका उनलाई उपचारमा लाग्ने खर्च जुटाउन मुश्किल परिरहेको छ। हर्कबहादुरका अनुसार अहिलेसम्म चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उनी भन्छन्, “साथीभाइसँग ऋण मागेर काम चलाइरहेको छु। यसमा सरासर सुजङ अस्पतालको गल्ती देखिन्छ। तर उसले कुनै सहयोग गरेको छैन।”

स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगालका अनुसार मुख्य शल्यक्रियाहरूमा मिर्गौला फेल हुने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। “खासगरी बीपी घटेको, रक्तअल्पता वा रगत धेरै बगेको, संक्रमण भएको, पेनकिलर, पारासिटामोल खाएको स्थितिमा मिर्गौला बिग्रिन सक्छ,” उनी भन्छन्।

जिम्मेवार को?

१५ वर्षअघि कोरियालीको सहयोगमा सञ्चालित सुजङ अस्पताल अहिले सामुदायिक अस्पताल बनेको छ। यो अस्पतालमा दुई वर्षयता जनरल सर्जनले नै गर्भवतीको शल्यक्रिया गर्दै आएका छन्। जबकि गर्भवतीको शल्यक्रिया गर्न स्त्रीरोग विशेषज्ञ हुनुपर्छ।

“नियम अनुसार सर्जनले अपरेशन गर्न पाउँदैन। गर्ने नै हो भने पनि उसले सुत्केरी गराउने तालीम लिएको हुनुपर्छ,” डा. दंगाल भन्छन्, “हैन भने त्यो डाक्टरले स्पष्टीकरण दिनुपर्छ- किन अपरेशन गरेको भनेर।”

नौसराको शल्यक्रिया गर्ने डा. सुवासले सुत्केरी गराउने तालीम लिएका छैनन्। नौसराको शल्यक्रिया बिग्रिएपछि अस्पतालले उनलाई हटाएर रातारात स्त्रीरोग विशेषज्ञ ऋतु सुवेदीलाई नियुक्त गरेको छ।

“तपाईं केही दिन छुट्टीमा बस्नुस् भनेपछि म घर फर्किएँ। दोस्रो दिन नै अस्पतालमा स्त्रीरोग विशेषज्ञलाई स्वागत भनेर फोटो हालेको देखें,” सुवास भन्छन्।

उनका अनुसार पहिले स्त्रीरोग विशेषज्ञ नभएकाले अस्पतालले उनैलाई गर्भवतीको शल्यक्रिया गराउने जिम्मेवारी दिंदै आएको थियो। “१० वर्ष भयो मैले काम गरेको, यस्तो कहिल्यै भएको थिएन। मैले गर्न सक्छु भनेर नै गरेको हुँ,” डा. सुवास भन्छन्।

अस्पतालका व्यवस्थापक अर्जुन बलायर अस्पतालमा पहिले स्त्रीरोग विशेषज्ञ रहे पनि दुई वर्षयता डा. सुवासले नै गर्भवतीको शल्यक्रिया गर्दै आएको बताउँछन्। “उहाँले आफू सर्जन रहेकाले गर्न सक्छु भनेरै नौसराको शल्यक्रिया गर्नुभएको हो। पहिले पहिले पनि गर्नुभएकै हो। यसअघि यस्तो भएको थिएन,” उनी भन्छन्।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार १०० शय्याको अस्पतालमा आधारभूत, जनरल फिजिसियन, जनरल शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति, बालरोग तथा शिशु, हाडजोर्नी, दन्तचिकित्सा, सामान्य आँखा उपचार, फिजियोथेरापी, एनेस्थेसियोलोजी, नाक-कान-घाँटी सम्बन्धी, मानसिक र चर्म तथा यौनरोग सेवाका विशेषज्ञ डाक्टर हुनुपर्छ। तर सुजङ अस्पतालमा तोकिए अनुसारका सबै चिकित्सक छैनन्। अस्पतालका अनुसार अहिले हाडजोर्नी र स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सक मात्र छन्।

एक महीनाअघि हात भाँचिएर उपचारका लागि ल्याइएकी बालिकाको यही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। दिपायल सिलगढी नगरपालिका-३, दिपायलका लोकेन्द्र भुलकी नौ वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर देब्रे हात भाँचिएको थियो।

सामान्य उपचारपछि शल्यक्रियाका लागि बेहोश बनाइएकी रजनीको मृत्यु हुनुमा चिकित्सकीय कमजोरी कारण रहेको आशंकामा चिकित्सकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। पक्राउ पर्नेमा डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादव थिए।याे समाचार हिमाल खबरबाट लिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय