बझाङ / उपनिर्वाचनका लागि बझाङ जिल्लामा आज (बुधबार)बाट आचारसंहिता लागू भएको छ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले कानुनबमोजिम बझाङ जिल्ला आचारसंहिता लागू गरिएकाे हाे ।
आचारसंहिता कार्यान्वयनका लागि आयाेगले उपनिर्वाचनमा सहभागी दल, उम्मेदवार तथा भ्रातृ संगठनको दैनिक खर्च विवरण लिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन पनि दिएको छ।
सीमाभन्दा बढी खर्च गरे तत्काल कारबाही गर्न भनिएकाे छ । जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय पनि सूक्ष्म निगरानीमा राख्न र आचारसंहिता उल्लंघनको विषयमा तत्काल कारबाही प्रारम्भ गर्ने भनिएको छ।
निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ। अन्तिम नामावलीमा बझाङका ११ जनालाई आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। दलबाट १२ जनाको उम्मेदवारी परेको थियाे भने जसमध्ये एक जनाले फिर्ता लिएका छन् ।
बझाङ प्रदेश १ मा कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री, जनमतका सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले उम्मेदवारी दिएका छन्।
आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकाले दुई दिन बिदा दिन सरकारलाई निर्देशन गरेको छ। १३ र १४ गते ती विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ। मतदानको दिन १५ गते शनिबार भएकाले आयोगले दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिनुपर्ने निर्णय गरेको हो।











