डाेटी,डाेटीमा दादुरा रुबेला खोप अभियान अन्तर्गत यस वर्ष हालसम्म १६ हजार ८ सय २३ जना बालबालिकालाई खोप लगाइएको छ ।
राष्ट्रिय खाेप अभियान अन्तर्गत स्वास्थ्य कार्यालय डाेटीद्वारा
सञ्चालन गरिएकाे उक्त खाेप अभियानमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका डाेटीमा ९४ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय डोटीले दिएकाे सूचनाअनुसार के.आई.सिंह गाउँपालिकामा ११२ प्रतिशत सबैभन्दा बढी बालबालिकालाई दादुरा रूबेलाकाे खाेप लगाइएको छ । त्यस्तै बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका र आदर्श गाउँपालिकामा १०२ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।
त्यस्तै प्राप्त सूचनामा क्रमश उल्लेख गरे अनुसार दिपायल सिलगढी नगरपालिकाका ९२ प्रतिशत, पुर्विचौकी गाउँपालिकाका ८९ प्रतिशत, बडीकेदार गाउँपालिकाका ८७ प्रतिशत, सायल गाउँपालिकाका ८४ प्रतिशत र शिखर नगरपालिकाका ८३ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।
खाेप अभियानकाे फागुन १३ गतेदेखि २० गतेसम्म निर्धारित समय ताेकिएकाे भएपनि हालसम्म अभियान जारी रहेकाे स्वास्थ्य कार्यालय डाेटीका प्रमुख रमेश मलासीले बताउनु भयाे ।
उहाँले भन्नूभयाे,” लक्ष्यित समुह खोप लगाउनबाट छुटेको हुनसक्ने आशङ्कामा जिल्लाका ९ वटै पालिकामा सूक्ष्म ढङ्गबाट खोज कार्य जारी रहेकाे बताउनु भयाे ।”
अभियान अन्तर्गत खाेप १७ हजार ८ सय ४८ बालबालिकालाई लगाउने लक्ष्य रहेकाे प्रस्तुत तथ्यांकमा उल्लेख छ ।











