सिलगढी,
डाेटीकाे केआईसिह गाउँपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीद्वारा जनप्रतिनिधिहरूसँग आयुर्वेद सेवा सम्बन्धी एक दिने अभिमुखिकरण तालिम गरेकाे छ ।
आयुर्वेदका अनुसार स्थानिय स्तरमा उपलब्ध जडिबुटीहरुको प्रयोग, उत्पादन, संरक्षण, प्रशोधन तथा दैनिक प्रयोग हुने मसला जस्ता औसधिय जडिबुटीहरुलाई सहि तरिकाले प्रयोग गरि कसरी स्वस्थ रहन सकिन्छ भन्ने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएकाे हाे ।
जिवनशैली परिवर्तनमा आयुर्वेदले अत्यन्तै ठूलो भुमिका निर्वाह गर्ने तथा अर्गानिक उत्पादनहरुलाई जीवनमा प्रयोग गर्न सके जीवन स्वस्थ तथा तन्दुरुस्त बनाउन सकिने कुरामा बिस्वस्त रहेको सहभागीहरुले बताएका छन् । एकै दिन भएपनि आयुर्वेदक तालिम लिन पाउँदा जनप्रतिनिधि खुसी भएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीका निमित्त प्रमुख बिद्या घिमिरे देउवाका अनुसार जनप्रतिनिधिहरु स्थानिय तहका नीति भएको हुँदा उक्त नीति निर्माण गर्दा आयुर्वेदलाई पनि प्राथमिकतामा राख्न सकियो भने यसको वृद्धि विकास गर्न सकिने बताइन् । आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति भएको र यसको संरक्षण सम्बर्द्धन तथा प्रचार र विस्तार गर्न सके स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने योग प्रशिक्षक बलदेव जोशिले बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरतबहादुर परियारले भन्नू भयाे, “स्वास्थ्य भनेको हाम्रो अमूल्य चिज हो, स्वास्थ्यको जगेर्ना गर्न प्राकृति अनुसार जीवन यापन गर्नुपर्ने हुन्छ, प्रकृति विमुख हामी हुन सक्दैनौं, निरोगी हुन र रोगबाट मुक्त हुन जिवनशैली सुधार गर्नु पर्ने हुन्छ।” आयुर्वेदका सेवाहरु पालिकामा नियमित सुरु गर्ने र विस्तारै सुधार गर्दै लैजाने बताए ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिक अध्यक्ष लोकेन्द्रबहादुर शाहीका अनुसार आयुर्वेदको महत्त्वको बारेमा बुझाउन नसक्दा आयुर्वेदका सेवाहरुमा कठिनाई उत्पन्न भैरहेको बताए ।
आफ्नो स्थानियस्तरमा उपलब्ध हुने चिजहरुलाई बेवास्ता गर्दै अधुनिक तथा बजारका चिजबस्तु तथा खनेकुराको प्रयोग गर्ने प्रवृतिले पनि आयुर्वेद क्षेत्र ओझेलमा पर्न गएको अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीले थपे “जङ्गफुड तथा बजारका तयारी खानेकुरालाई परिस्कृत गर्दै अर्गानिक चिजहरुको प्रयोग गर्नुपर्ने आजको आवस्यकता हाे, साथै पालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्र ( आयुर्वेद शाख) बाट प्रदान गरिने सेवाहरुलाई विस्तार तथा प्रभवकरी बनाउन पहल गर्ने छु।”











