मनमाेहन ठकुल्ला, डाेटी,
हिजाे (बुधबार) रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लामा आज बिहानैदेखि हिमपात शुरु भएको छ। याे वर्ष भने लामाे समयपछि मात्रै पहिलाे पटक हिमपात भएकाे हाे । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भू-स्वर्गका नामले परिचित अर्थात् खप्तडमा पनि आज ( बिहीबार ) बिहानैदेखि हिमपात शुरु भएको खप्तड राष्ट्रिय निकुञ्जले जानकारी दिएकाे छ । खप्तडमा करिव ३ फिट जति हिमपात भएकाे निकुञ्जले जानकारी दिएकाे छ । डाेटीकाे झिग्राना ब्यारेक आसपासमा हिमपात हुँदा जनजीवन कष्टकर भएकाे स्थानीयले बताएका छन् ।
त्यस्तै डाेटीमा लामाे समयपछि पानी पर्दा किसानहरू खुसी भएका छन् । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला डाेटीसहित सुदूरपश्चिमका हिमाली,पहाडी र तराईका जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका हुन् ।
डाेटीसहित सुदुरपश्चिमका विभिन्न भूभागमा लामो समयको अन्तरालपछि पानी पर्दा केही क्षेत्रमा बालीनाली सुकिसकेकाे भएपनि केही क्षेत्रमा ओसिलाे क्षेत्रमा रहेकाे बाली पानी परेसँगै सप्रिने भन्दै किसान खुशीले हर्षित भएका छन् ।
सुख्खा तथा माथिलाे लेकाली भेगमा गहुँ लगायतका बाली सुकिसकेकाे भएपनि आलु खेतीकाे लागि खन्जाेत गर्न सहज हुने पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ आलु खेतिका किसान गाेरख ठकुल्लाले बताउनु भयाे । ठकुल्लाले भन्नू भयाे ” हिउँदे खेतिकाे त आस मर्याे तर अब बर्खे खेतिकाे लागि धान, आलु, काेदाे, आदिकाे लागि खन्जाेत गर्न अलि सहज हुने बताउनु भएकाे छ ।
डाेटी जिल्लाकाे हकमा सुख्खा क्षेत्रमा गहुँ पुस महिनामै सुकिसकेका किसानहरू बताउछन् । त्यस्तै पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का किसान हिरा ठकुल्ला भन्नू हुन्छ ” अब मेघ आएर के गर्नु ? गहुँ सुकेर झुरीमुरी पुस महिनामै भइसकेका छन्, यसै हुन्छ भने भाेकमरी आउन बेर छैन् ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगादत्त अवस्थीका अनुसार यस वर्ष आकाशे पानी नपर्दा हिँउदे बाली ३० देखि ४० प्रतिशत घट्ने सम्भावना थियाे तर ढिलाे पानी परेपनि हिँउदे बाली जाेगिएकाे बताउनु भयाे । उहाँले भन्नू भयाे ” याे भनेकाे किसानका लागि अमृत हाे, पानी ढिलाे परेपनि किसानहरू खुसी व्यक्त गरिरहेका छन्, किसानलाई थाेरै भएपनि राहत मिलेकाे छ ।”
निमित्त प्रमुख अवस्थीका अनुसार वसन्त ऋतुमा लगाइने तरकारी र बर्खे माैसमी खेतीकाे खनजाेत, फलफूलका खाडल खन्न ठूलाे सहज पुगेकाे बताउनु भएकाे छ ।











