मनमाेहन ठकुल्ला, डाेटी,
आर्थिक वर्ष २०७९/०८० काे स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिका उत्कृष्ट बन्न सफल भएकाे छ ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९५.५ अङ्क हासिल गर्दै आदर्श गाउपालिका जिल्लाकाे हकमा मात्र नभइ सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिका बनेको हो ।
त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा
७४.७५ अङ्क ल्याउइ डाेटीकाे शिखर नगरपालिका दाेस्राे भएकाे भने दिपायल सिलगढी नगरपालिकाले ६८.५ प्रतिशत अङ्क ल्याइ तेस्राे स्थान हासिल गरेकाे छ । ६५ प्रतिशत अङ्क ल्याइ के. आई. सिंह गाउँपालिकाले लिजामा चाैथाे स्थान ओगट्न सफल भएकाे छ ।
त्यसैगरी बाेगटान फुड्सिल गाउँपालिकाले लिजामा ६४.५ प्रतिशत अङ्क ल्याएकाे छ भने लिजामा जाेरायल गाउँपालिकाले ६३.२५ प्रतिशत अङ्क प्राप्त गरेकाे छ । त्यस्तै पूर्वीचाैकी गाउँपालिकाले ६०.२५ प्रतिशत अङ्क ल्याएकाे छ भने सायल गाउँपालिकाले ४७.५ प्रतिशत अङ्क प्राप्त गरेकाे छ ।
जिल्लाका सम्पूर्ण स्थानीय तहकाे संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) काे तुलनात्मक ढंगले नियाल्दा सबै भन्दा कम बडीकेदार गाउँपालिकाले ४४.२५ अङ्क मात्रै ल्याएकाे छ ।
जसमध्ये सम्बन्धित स्थानीय तहले मुल्यांकनकाे लागि शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकाय र समन्वय गरी १० शर्त पूरा गर्नु पर्ने हुन्छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ काे दफा ८० बमोजिम स्थानीय तह संस्थागत क्षमता मूल्यांकन कार्यविधि २०७७ अनुसार सबै स्थानीय तहलाई पाैष मसान्तसम्म भित्र आफ्नाे नतिजा कार्यपालिकाबाट स्वीकृत गरि माघ महिनाकाे पहिलाे हप्ताभित्र आफ्नाे वेबसाइट र सूचना पाटी मार्फत सार्वजनिक गर्न निर्देशन दिएकाे थियाे ।











