बैतडी–बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका –६ मा एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शनिबार साँझ साढे ६ बजेकाे समयमा साेही ठाउँ थलालगाउँका पुष्कर थलालको घरमा विद्युतको तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उक्त आगलागीबाट थलालको नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ । यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको प्रहरी स्राेतले जनाएको छ ।
आगलागीबाट घरकाे माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको टोली साँझ साढेसात बजेतिर नियन्त्रणमा लिएको जनाएको छ ।











