मनमाेहन ठकुल्ला, डाेटी
“डोटीको पुर्विचौकी गाँउपालिकामा रहेको सानागाँउ स्वास्थ्य चौकीमा किचलो रहेको कुरा बाहिरीएको छ । उक्त कुरा वाहिरिएसँगै पालिकामा थिति छ कि व्यथिति भन्ने प्रश्न उव्जीएको छ । स्वास्थ्य चौकी प्रमुखले आफुमाथी जातिय राजनीति भएको आरोप लगाएका छन् भने चौकीका प्रमुखले नियमको पालना नगरेको व्यवस्थापन समिति अध्यक्षको आरोप छ । पालिका स्वास्थ्य उपसंयोजक चौकी प्रमुखले धम्काएको आरोप लगाउन्छन् भने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जे पनि हुन सक्ने बताउन्छन् । ”
डोटीबाट संचालन भई रहेको स्मार्ट एफएम रेडियोको अनलाईन न्युज संस्करण स्मार्ट एफएम नामक पोटलमा “जनशक्ति नहुँदा तीन वर्षदेखि एक्सरे मेसिन प्रयोग विहीन” शीर्षकको एउटा समाचार प्रकाशन भएको केहि समयपछि सामाजिक संजाल फेसबुकमा यसरी चल्छन् डोटीका स्वास्थ्य संस्था भन्ने शिर्षकमा सोहि स्वास्थ्य चौकीका प्रमुख दिपक जोशी स्वास्थ्य संस्थामा उपस्थित नहुने गरेको विषय सार्वजनिक भएसंगै हामीले घटनाको तथ्य बुझ्नका लागि खोज गर्दा उक्त संस्थामा किचलो रहेको कुरा बाहिरेको हो ।
पूर्वीचाैकी गाँउपालिकाले स्थानीय जनाताको स्वास्थ्यलाई मध्येनजगर गर्दै ५ लाख मुल्य बराबरको एक्सरे मेसिन खरिद गरी उक्त स्वास्थ्य चौकीलाई दिएको भए पनि एक्सेरे मेसिन संचालन हुन नसक्नुमा प्राविधिक समस्या देखाईएको थियो । यस विषयमा हामीले प्राप्त तथ्यका आधारमा समाचार सम्प्रेषण गरिसकेका छौँ । त्यस्तै सामाजिक सञ्जालमा आएको ७ मिनेट ३९ सेकेन्डको भिडियोमा उक्त स्वास्थ्य चौकीका प्रमुख दिपक जोशी कार्यालयमा नरहेको विषयमा थप खोज गर्ने क्रममा संस्थाभित्र किचलो रहेको कुरा बाहिर आएको हो ।
स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन सञ्चालन हुन नसक्दा सेवाग्राहीहरुले सामान्य एक्सरे गर्नका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यात्मक अबस्था रहेको र स्वास्थ्य संस्था माथिका केहि गुनासाहरु आएपछि हामीले उक्त चौकीका प्रमुख दिपक जोशीलाई टेलिफोन सम्पर्क गरी तथ्य खोज्ने क्रममा जोशीले शुरुको समयमा दुई तिन दिन एक्सरे मेसिन सञ्चालन भएको र विगत ३ वर्ष देखि दक्ष प्राविधिक कर्मचारीको अभावमा प्रयोग विहीन भएको बताएका थिए । सोही क्रममा हामीले जोशीलाई तपाई स्वास्थ्य चौकीमा जानु भएको छैन भन्ने छ नी भन्ने प्रश्नमा जोशीले भने – “पुस २ गतेको हाजिर लगाएर म दुई दिनको लागि सिलगढी तालिममा आएको थिए । त्यसपछि मेरो थोरै धनगढी काम थियो म कार्यालय नगएरै सिलगढीबाट सिधैँ यता आईहाले ।”
जोशीले थपे – “स्वास्थ चौकीमा हामी जम्मा ८ जना कर्मचारी छौँ । म धनगढी अथवा यत्रो लामो दिन बिदामा बसे पनि मैले, चौकीले दिने स्वास्थ्य सेवाको चाँजोपाँजो मिलाएर आएको छु । स्वास्थ्य सेवामा कुनै बाधा पुगेको छैन भन्ने कुरा मैले सहकर्मी बाट पाएको छु ।”
तपाईले कार्यालयमा जानकारी समेत गराउनु भएको छैन भन्ने आएको छ नी भन्ने हाम्रो जिज्ञासामा जोशीले आफुमाथि जातिय राजनीति भएको र काम गर्ने वातावरण नभएको बताए । उनले भने – “म कार्यालय नजानुको कारण छ, मैले सहजरूपमा काम गर्ने वातावरण नपाएपछि, म कसरी जान सक्छु, सधैँ पिडाहरू कुण्ठित पारेर म कसरी कार्यालमा शान्ति पाउन सक्छु ।” जोशीले यति मात्र भनेन् संवादकाे क्रममा उनले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिकाका प्रशासकीय प्रमुख, स्वास्थ्य सहसंयोजक लगायतका व्यक्तिले आफुमाथि जातिय राजनीति गरेको अरोपसमेत लगाए । जोशीले भने – “म खड्का भइदिएको भए, म सहजरूपमा काम गर्न पाउथे होला, तर भएन । म जोशीको छोरा भए, जातीय राजनीति दाउपेच भयो ।”
जोशीले अघाडी भने – “म माथि भएको अपमान भनौ, अन्याय हजुरको सामु पोख्दैछु । बिरामीलाई सेवा दिने क्षेत्रमा राजनीति चल्दै छ, जसका कारण सहजरूपमा कार्यालय सञ्चालन गर्न पाएको छैन, स्वास्थ्य चौकीको वातावरण खैलावैला बनाएको छ, मलाई तालिम जान रोक लगाइन्छ । मेरो जातीय राजनीतिले मन चुटिएको छ, ठूलो राजनीतिक चलखेल विगतदेखि खेप्दै आएको हुँ, वर्तमान जनप्रतिनिधिबाट आफूलाई असहयोग महसुस गरिएको गरेको छु ।”
जोशीले आफू र आफ्नो पेशामाथि राजनीतिक पूर्वाग्रही राखेर समस्यामा पार्नेमा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, स्वास्थ्य व्यवस्थापन अध्यक्ष बल बहादुर खड्का, स्वास्थ्यशाखा सहसंयोजक राम खड्का लगायतका व्यक्तिले रहेको र उनीहरुले काम गर्न नदिएर जातीय राजनीतिको खेल खेलेको आरोप लगाएका हुन् । सोहि कारणले आफू माथि नैराश्यता उत्पन्न हुँदा कार्यालयमा हाजिरी नभएको समेत बताए ।
घटनाको तथ्य बुझ्न हामीले उक्त स्वास्थ्य चौकीका अध्यक्ष समेत रहेका वडा नं. ४ का वडा अध्यक्ष बल वहादुर खड्कालाई सम्पर्क गर्यौँ । खड्काले भने – “स्वास्थ्यको मापदण्ड बढाउनु पर्छ, कर्मचारीले कार्यालय समय भरी काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।” प्रमुख जोशीले आफूमाथि लगाएको आरोप गलत भएको दावी गरे । खड्काले भने – “राजनीतिक पूर्वाग्रही तथा जातीय राजनीतिका कारण काम गर्न नदिएको भन्ने आरोप झुटा हो ।” आफूले स्वास्थ्य चौकीमा केही पनि असहज वातावरण सिर्जना नगरेको तर प्रमुख दिपक जोशीले लगाएको आरोप सबै भ्रम भएको दावी गरे । वडा अध्यक्ष खड्काले भने – “स्वास्थ्य चौकी प्रमुख दिपक जोशी कार्यालयमा अनुपस्थित भएको सुनेपछि फोन मार्फत बुझ्न खोज्दा उहाले मलाई सिधै तपाई को हो ? भने प्रश्न गर्नु भयो ।”
गाउँपालिका स्वास्थ्य सहसंयोजक राजु खड्काका अनुसार स्वास्थ्य चौकी प्रमुख दिपक जोशीको २ गते देखि ४ गतेसम्म काज थिए तर उनले पुस ७ गतेसम्म कुनै सोधपुछ नगरी मनोमानी ढंगले काज सारेको उनले बताइन् । सहसंयोजक खड्काले भनिन् – “गाउँपालिकामा ८ गते मासिक बैठक थियो तर सानागाउँ स्वास्थ्य चौकीबाट कोही नआएपछि प्रमुख जोशी कार्यालयमा अनुपस्थित भएको बल्ल बुझियो ।” स्वास्थ्य शाखा भएकै नाताले प्रमुख प्रशासकीय अधिकृतबाट फोन मार्फत बुझ्न खोज्दा उल्टै चौकी प्रमुखले धम्की दिएको खड्कोको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत लुइँटेललाई स्वास्थ्य चौकी प्रमुखले मुख छोड्दै तपाईंको काम गर्ने बिचार छ कि छैन ? भन्दै धम्काएको, दादागिरी देखाएको जोशी माथि आरोप लगाईन् ।
यसै विषयमा हामीले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललाई सम्पर्क गर्यौ । लुइँटेलले भने – ”स्वास्थ्य चौकी प्रमुखले के के भन्ने विषयमा नजाउँ, उहाँको सबै कुरा गलत हो । अहिले सम्म केही गरेका छैनौँ, अब चाहिँ गर्ने अभियानमा छौँ ।” लुइँटेललाई हामीले प्रश्न गर्यौ कस्तो अभियान ? लुइँटेलले भने – “जे पनि हुन सक्छ बाँकी कुरा नगरौँ, त्यस्तो कर्मचारीलाई ।” कार्यालयबाट बाहिर जाँदा गाउँपालिका प्रशासनलाई कुनै सूचना नदिइ विना सुचना स्वास्थ्य चौकी प्रमुख जोशी छुट्टीमा बसेको आरोप लुइँटेलले पनि लगाएका छन् ।
उक्त दिनको विषयमा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा पूर्वीचौकी गाउँपालिका ४ का वडा अध्यक्ष बल बहादुर खड्काले आफूले फोेन गर्नुको सट्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेललाई फोन गर्न लगाएको बताएका छन् । लुईटेलसँग कुराकानी हुँदा व्यर्थै दोष दिएपछि आफूपनि चर्को स्वरले बोलेको जोशीले स्वीकार गरेका छन् ।











