सिलगढी / पछिल्लाे समय माैलिकता हराउदै गएकाे भन्दै माैलिकता जाेगाउन डाेटीकाे दिपायल सिलगढी नगरपालिका चाैधरीटाेल निवासीहरुले सामुहिक पुष १५ मनाएका छन् ।
पुष १५ काे रातमा एक आपसमा मिलेर बस्दै तरुल, सगरखण्ड, फर्सी, निसासे (ढुकढुके) राेटी पकाएर खाने, वातहाल्ने (विभिन्न कथा) हरु सुनाउने, उखान टुक्का हाल्ने, नाचगान गर्दै रमाईलाे गर्ने, आगाे ताप्ने लगायतका कार्यहरु गरि सुदुरपश्चिमभरी पुसे १५ अर्थात पुस १५ मनाउने गरिएकाे स्थानिय पदम गुरुङ्गले बताए ।
यसरी बेलाबखत सामुहिक रुपमा कार्यक्रम गर्दा रमाईलाे हुनु काे साथै भाईचारा बढ्ने, एकअर्कामा रहेका तुषहरु हटेर जाने सम्भावना बढ्ने स्थानिय कृष्ण प्रसाद श्रेष्ठले बताए । पुषे १५ काे रात कटाउनका लागि वात हाल्ने चलन समेत रहेकाे र विभिन्न कथाहरु समेत सुनाईने भएकाले नयाँ पुस्ताका लागि सिकाई समेत हुने स्थानिय हरिओम श्रेष्ठले बताए ।
पछिल्लाे समय माैलिकता वाेकेकाे सिलगढी बजारकाे राेनकता घटदै जानथालेकाे ले त्यसलाई वरकरार राख्ने उदेश्यका साथ आजकाे कार्यक्रम आयाेजना गरिएकाे स्थानिय अनुपम केशीले बताए । नगरपालिकाकाे वडा नं. ६ सिलगढी अन्तरगत परणने चाैधरीटाेल, कृष्णालय टाेल, लक्ष्मी टाेल, ईन्द्रचाेक क्षेत्रका बासिन्दाहरुले माैलिक रुपमा मनाईने पर्व जगर्ना गर्ने उदेश्यले यस्ता कार्यक्रमहरु आयाेजना गर्दै आएका छन् ।











