मनमोहन ठकुल्ला, सिलगढी/ डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँ स्वास्थ्य चौकीमा रहेको लाखौ मुल्य पर्ने एक्सरे मेसिन ३ वर्ष देखी प्रयोगविहीन हुदा सेवाग्राहीलाई मर्का परेको छ । उक्त विषयमा बुझ्दा उक्त गाँउपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले लामो इन्टरभ्यु नलिनुस् भन्दै झर्किएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७/२०७८ को बजेटबाट स्थानियलाई स्वास्थ्य सेवामा सहयोग पुराउने उदेश्यका साथ पाँच लाख भन्दा बढी मुल्यको मेसिन खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो । सुरुका केहि दिन उक्त मेसिन चलाईएको भए पनि विगद ३ बर्ष देखि दक्ष जनशक्तिको नहुदाँ मेसिन त्यतिकै थन्किएको हो ।
सामान्य एक्सरे गर्न पनि पालिकाका जनता जिल्ला सदरमुकाम धाउनु पर्ने समस्या भएको गुनासो आएपछि हामीले उक्त विषयमा बुझन् क्रममा गाँउपालिकाका अध्यक्ष राम प्रसाद उपाध्याय संग टेलिफोन सम्पर्क गरि जिज्ञासा राख्दा उनले भने – “स्वास्थ्य चौकीको विषयमा मलाई सोध्नु भन्दा पहिले स्वास्थ्य चौकी प्रमुखलाई सोध्नहोस् ।”
हामीले स्वास्थ्यचौकी प्रमुखलाई बुझेर तपाईंलाई बुझ्न चाहेका हौँ भन्दा अध्यक्ष उपाध्यायले झर्कदै भने – “एक्सरे मेसिन चलाउन कर्मचारी छैन भन्ने कुरा म पत्याउदैन् , कर्मचारी छन् बाहाना हो । अरु कुरा मलाई त्यो विषयमा केही थाहा छैन् मलाई नसोध्नुहोस् ।”
अध्यक्षलाई पनि थाहा नहुने हुन्छ र भन्ने हाम्रो जिज्ञासामा उपाध्यायले भने– “आफ्नो गाउँपालिकाको विषयमा किन थाहा नहोला, मलाई सबै थाहा छ नी, तर भन्दैन, त्यो विषयमा बोल्दैन् । तपाईं घुमाएर लेख्नुहोस् जे जे लेख्नुहुन्छ ।” उनले थपे– “तपाईं धेरै लामो इन्टरभ्यु नलिनुहोस् र नराखौँ पनि छोडौँ ती कुरा, अब भयो ।”
जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै विगतको गाउँपालिका सरकारले लाखौ रूपैयाँमा खरिद गरी एक्सरे मेसिन स्वस्थ्य चौकीलाई सहयोग गरेको भए पनि सञ्चालनका लागि प्राविधिक जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्यचौकी प्रमुख दिपक जोशीले बताएका छन् । एक्सरे मेसिन २÷४ दिन मात्र प्रयोगमा ल्याइएको भएपनि हाल उक्त मेसिन करिव ३ वर्षयता देखि प्रयोगविहीन अबस्थामा रहेको जोशीले बताएका छन् ।
प्रमुख जोशीले भने – “मेसिन बिग्रेको छैन, चालु छ तर हामीसँग जनशक्ति नहुँदा सञ्चालनमा ल्याइ सेवाग्राहीहरूलाई सेवा दिन सकिरहेका छैनौँ ।”
प्राविधिकको अभावमा स्वास्थ्य चौकीले मेसिन सञ्चालन ल्याउन नसक्दा आफुहरुलाई समस्या परेको र एक्सरे गर्न कै लागी जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता रहेका स्थानीयले बताउदै आएका छन् ।
उक्त विषयमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पाठकसंग बुझ्दा उनले आफु विरामी भएर उपचारमा रहेको बताएका छन् । पाठकले भने– “पहिले डा. अंकित हुदाँ सम्म एक्सेरे मेसीन सञ्चालनमा रहेको थियो । उहाँ गइसकेपछि एक्सरे मेसिनको सामान बिग्रेको सुन्नमा आएको छ ।” पाठकले आफू साउन महिना देखि विविध कारणले कार्यालय बाहिर रहेकाले अझै विस्तृत कुरा थाहा नभएको बताएका छन् ।
प्रमुख पाठकले भने – “म टेर्निङ्गबाट फर्कने क्रममा दुर्घटनामा परी काठमाडौँ टिचिङ हस्पिटलमा उपचारत छु । सामान्य तालिम प्राप्त स्वास्थ्यकर्मीले एक्सरे मेसिन सञ्चालन ल्याउन सक्दैनन् । अब केही समयपछि दक्ष जनशक्ति खोजेर सञ्चालनमा ल्याउने प्रयास भईरहेको छ ।”











