कञ्चनपुर / कञ्चनपुरमा ठगी गरेको आरोपमा शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शिवशिखर शाखा कार्यालय महेन्द्रनगर कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ पर्नेमा गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन्। पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कारण के थियाे
महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए । उनीहरूविरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन्। बचतकर्ताले जम्मा गरेको वचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि सहकारी विरुद्ध उजुरी परेकाे प्रहरीकाे भनाइ छ ।
उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ। शिवशिखर विरूद्व प्रहरीले ठगी गरेकाे आराेपमा केहि दिन अघि सुचना निकालेकाे थियाे ।











