मनमाेहन ठकुल्ला सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका -५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले पक्राउ गरिएका ३ जनाकाे नाम सार्वजनिक गरेकाे छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय डाेटीले पत्रकारसँगकाे एक कार्यक्रममा ३ जनाको नाम सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला दिपायल सिलगढी नगरपालिका -५ पुन्ना बस्ने बर्ष ३० का लक्ष्मण बिष्ट, वर्ष ३० को देवराज भट्ट र साेहि ठाउँकै बर्ष ३० का राम बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी उपरीक्षक बिष्णुहरी काेइरालाले बताए ।
३० वर्षीय समीर मंसिर १२ गते बिहान ०७:०० बजेको समयमा दिपायल सिलगढी सडक खण्ड अन्तर्गत दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित पक्की सडकखण्डको नालीमा मृत फेला परेका थिए । हाल सम्म पनि मृतकका आफन्तले लास बुझेका छैन । समिरकाे लास डाेटी अस्पतालकाे शव गृहमा रहेकाे छ ।
उनीहरू ३ जनाको नाममा १३ गते मृतकको बुवाले प्रहरी कार्यालयमा ठाडो निवेदन दिए पश्चात उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे । मंसिर १४ गते ३ जनाहरुको नाममा कर्तव्य ज्यान सम्बन्धी जाहेरी प्राप्त पश्चात सम्मानित अदालत डोटीबाट म्याद थप गरि घटनाबारे अनुसन्धान भईरहेको उपरीक्षक काेइरालाले जानकारी दिएकाे छ ।











