सिलगढी/हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।











