सिलगढी / हाल देशमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिऐकाे छ ।
महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरे अनुसार आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएकाे छ ।











