बाजुरा / बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका–६ धुलाचौर बजार नजिक बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहीबार दुर्घटनामा परी मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्की रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै जिपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय बसन्त धामी खुट्टामा चाेट लागेर घाइते भएका छन् । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको बाजुरा प्रहरी स्राेतले जनाएको छ ।
धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेकाे हाे । चालकसहित एक जना भने सकुशल रहेको प्रहरीकाे भनाइ छ ।
जीप चालक खत्याड गाउँपालिका–९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।











