कैलाली / विवाहमा गएका कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका – २ घेराघाटका २६ वर्षीय मोहन अधिकारीको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएपछि त्यहाँ सामान्य उपचार पछि उनलाई नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
उनकाे सामुहिक कुटपिटबाट मृत्यु भएपछि संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै व्यक्ति लम्की चुहान नगरपालिका वडा नम्बर ९ का रहेकाे प्रहरी स्राेतका भनाइ छ ।











