मनमाेहन ठकुल्ला
सिलगढी, सुदुरपश्चिमकाे प्रसिद्ध धार्मिक तिर्थस्थल शैलेश्वरी मन्दिरकाे भण्डारघर अर्थात देउघरमा आज विशेष पुजा हुने भएकाे छ । यसै क्रममा देवी भगवतीकाे श्रृगार सामाग्री र देविकाे प्राचिन मुर्ति, प्रतिमा, स्फटिक भएकाे पेटाराे अर्थात बाकस शुध्दिकरणका लागि आज बाहिर निकालिने भएकाेले प्रचिन मुर्तिकाे दर्शन गर्न पाईने भएकाे छ ।
आज आइतबार दिउसाे ११ बजे देउघर विशेष पूजा सुरु हुने मुलभण्डारी परिवारका सदस्य राम धामीले बताएका छन् । धामीका अनुसार जात्रा अर्थात जाँत हुनु पुर्व देउघरमा रहेका देवीका प्रतिमा, स्फटिक, देविका गरगहना, चवर, गाँजेलाैडाे लगायतका पुजासामाग्रीहरु भण्डार घरमा सुरक्षित राखिने स्थान भन्दा बाहिर बैधिक परम्परा अनुसार विशेष पुजा गरि देविलाई आव्हान गर्दै जागृत गरि निकाल्ने प्रचलन रहेकाे छ ।
पर्वकाे समयमा खाेलिने भगवतीकाे बाकस खाेलेर बाकस भित्र रहेका सम्पूर्ण पूजाका सामाग्रीहरूलाई दुधले धाेएर स्नान गराए पश्चात पूजापाठमा संलग्न गराइने राम धामीले बताए । शुध्दिकरण पश्चात् ती देव सामाग्रीमा विशेष पुजा गरिनुकाे साथै पुज लगाईन्छ । साे भण्डार घरमा शैलेश्वरी मन्दिरका मुल भट्ट पुजारीले विशेष पुजा गर्ने गर्दछन् । देउघर पुजिएकाे दाेस्राे दिन करिव ५/६ बजेतिर शैलेश्वरीमा बाकसलाई लिएर गरगहना देउ गाज लिए, गइन्छ । गाँज उठाउदै गर्दा २ सयभन्दा बढी पाेटाला ( भगवतीकाे श्रृङ्गार ) चढाइ दश हजार भन्दा बढी मान्छे जम्मा हुने गरेकाे बताए ।
उक्त देउघरकाे पूजापाठमा पहिले बसाइँसराइ गरेर अन्यत्र बसेका र कामकाे सिलसिला स्वदेश तथा विदेश बस्दै आएका सम्पूर्ण स्थानीय सहभागी हुने गरेकाे उहाले बताए । देउता पुजनकाे लागि अन्य छिमेकी जिल्लाका बासिन्दाकाे पनि धुइचाे लाग्ने गर्दछ ।
शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टका अनुसार भगवतीकाे खास भण्डारमा मूर्ति गरगहना चढाउने गरिन्छ । प्राचीन सिजापति महाराजले चढाएका र सिंजासँग डाेटी राज्यकाे लडाइँ हुँदा बखतमा प्राचीन मूर्ति गरगहनाहरू त्यस्तै भाेटसँगकाे लडाइँमा डाेटेली फाैँजले जितेर ल्याएका प्राचीन गरगहना साइतका भगवतीका मूर्ति उक्त भण्डारमा राखेकाे छ ।
भट्टका अनुसार त्याे राखिएकाे बाकसलाई पेटाराे (डाेली) भन्ने गरिन्छ । त्यहाँ राखेका भगवतीका विशेष मूर्ति फटिक( मणि) पनि समावेश हुन्छ । ती गरगहनाहरूकाे पूजाआजा गरी डाेली र पेटाराेसहित बाह्र बरलाका मानिसहरू ( बाह्र गाउँका ) तथा स्थानीय मानिसहरू समावेश भइ उक्त सामानहरू शैलेश्वरी मन्दिरमा ल्याइ पुजा गरिन्छ ।
त्यस्तै सिलगाउँमा रहेकाे भगवतीकाे भण्डारबाट पनि पेटाराे गई शैलेश्वरी मन्दिरमा आज बेलुका विशेष पूजा हुने अध्यक्ष भट्टकाे भनाइ छ । शैलेश्वरी मन्दिरमा वर्षमा जेठ महिना , कार्तिक शुक्लपक्ष र माघमा वर्षमा तीन पटक पुजिने गरिन्छ । शैलेश्वरीमा प्रत्येक १२ वर्षमा काेटि हवन (कुम्भ) मेला लाग्ने गर्दछ ।











