कञ्चनपुर, प्रेम सम्बन्धमा रहेकी युवतीलाई विवाह गर्ने योजनासहित घर ल्याएपछि कञ्चनपुरमा एक युवकको परिवारमा विवाद भएको छ।
महेन्द्रनगरस्थित बसपार्कनजिकैको घरमा युवकले परिवारलाई पूर्वजानकारी नदिई प्रेमिकालाई ल्याएपछि आइतबार दिउँसो विवाद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार युवककी आमाले छोराले विवाह गर्ने योजनासहित युवतीलाई घर ल्याएको विषयमा असहमति जनाएपछि विवाद चर्किएको थियो। विवादका क्रममा युवक आमामाथि कुटपिट गर्नेसम्मको अवस्थामा पुगेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।
पारिवारिक विवाद चर्किएपछि घरअगाडि स्थानीयको भीडसमेत जम्मा भएको थियो। स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले युवक र युवतीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय लगेको जनाएको छ।
प्रहरीका अनुसार दुवैले आफूहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन्। परिवारको सहमति भए विवाह गर्ने पक्षमा रहेको उनीहरूको भनाइ छ।
घटनाबारे दुवै पक्षसँग थप सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











