डोटी, साउन २
डोटीको आदर्श गाउँपालिकामा घरबाट हराएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–१ बाँझ ककनीकी करिब ९०–९२ वर्षीया जगुदेवी खड्का शुक्रबार राति घरबाट कसैलाई जानकारी नदिई निस्किएकी थिइन्। परिवार र प्रहरीले खोजी गर्दा उनी तत्काल फेला परेकी थिइनन्।
आज बिहान करिब १०ः१० बजे घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको कुकुणे खोलामा, दिपायल–मौवा सडकखण्डबाट करिब २०० मिटर तल पहिरो क्षेत्रमा उनको शव फेला परेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक पदमराज पन्तको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। शवको मुचुल्का तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।











