कैलाली, असार १२ / कैलालीको मोहन्याल गाउँपालिकामा एक घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोहन्याल गाउँपालिका–७ ओखडेकोटका तुलाराम जैशीको घरमा गएराति आगलागी भएको हो।
आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा अन्य धनमालमा क्षति पुगेको प्रहरीले जनाएको छ। यद्यपि, आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण अझै संकलन हुन बाँकी रहेको छ।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











