डोटी । डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीस्थित भिमदत्त राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवक घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति करिब १ः२० बजे खडेना क्षेत्रबाट गैरातर्फ जाँदै गरेको सुपप्र ०१–०१४ प ०२७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक जोरायल गाउँपालिका–१ निवासी २४ वर्षीय मनोज विकको टाउकोमा चोट लागेको छ। यस्तै मोटरसाइकलको पछाडि सवार जोरायल गाउँपालिका–४ निवासी २२ वर्षीय रमेश विकको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको अवस्था मध्यम रहेको छ। प्रहरी चौकी घण्टेश्वरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी थप उपचारका लागि उनीहरूलाई धनगढीतर्फ पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











