बझाङ / सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना क्षेत्र भएपनि साईपाल हिमाल र सुर्मा सरोवरले पर्यटक पर्खी बसेको छ भन्दा अन्यथा नहोला ।
जिल्लामा अवस्थित साईपाल हिमाल, सुर्मा सरोवर, खप्तड क्षेत्र तथा विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन यस क्षेत्रको उचित प्रचार प्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकको संख्या कम रहेको छ । यद्यपि अन्तरिक पर्यटकहरु पछिल्ला समय बढन थालेको बझाङ्गबासी बताउन्छन् ।
समुद्री सतहबाट ७,०३१ मिटर उचाइमा रहेको साईपाल हिमाल पश्चिम नेपालको सुन्दर हिमशृंखलामध्ये एक हो। पछिल्लो समय पदयात्रा र हिमाली साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकको रोजाइमा साईपाल क्षेत्र पर्न सक्छ ।
त्यस्तै, ‘मिनी कैलाश’ का नामले परिचित सुर्मा सरोवर धार्मिक तथा प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा चिनिन्छ। समुद्री सतहबाट करिब ४,३३३ मिटर उचाइमा रहेको यो पवित्र तालमा हरेक वर्ष धार्मिक तीर्थयात्री तथा पर्यटक पुग्ने गरेका छन्। स्थानीय जनविश्वास र हिमाली सौन्दर्यका कारण सुर्मा सरोवरको लोकप्रियता क्षेत्र हो ।
बझाङसँग जोडिएको खप्तड क्षेत्र पनि पर्यटकको आकर्षणको केन्द्र हो । खप्तड राष्ट्रिय निकुञ्ज आफ्नो विशाल पाटन, दुर्लभ जडीबुटी, जैविक विविधता तथा धार्मिक स्थलका कारण प्रसिद्ध छ। पछिल्ला वर्षहरूमा खप्तडको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार बढाउन विभिन्न पहलहरू भए पनि चाहेको नतिजा यस क्षेत्रले पाउन सकेको छैन ।
सडक पहुँच, आवास सुविधा, सञ्चार सेवा तथा पर्यटन पूर्वाधारको अभाव अझै चुनौतीका रूपमा रहेको सरोकारवालाहरू बताउँछन्। पर्यटन क्षेत्रको दिगो विकासका लागि पूर्वाधार विस्तार, प्रचार–प्रसार तथा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ।
प्राकृतिक सम्पदा, धार्मिक महत्व र साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बझाङलाई सुदूरपश्चिमकै प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने पर्यटन विज्ञहरू बताउन्छन् ।











