कैलाली / कैलालीको गोदावरी नगरपालिकामा गोदावरी नदीमा आएको बाढीले बगाएकी एक महिलाको शव फेला परेको छ भने अर्की महिलाको खोजी जारी रहेको छ।
शुक्रबार बिहान गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई नदीमा आएको आकस्मिक बाढीले बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार बाढीमा बेपत्ता भएकी महेश्वरी धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे दुवै महिला जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा नदीमा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बिहान करिब ६ः४५ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारीले दुई महिलालाई बाढीले बगाएको जानकारी दिएपछि अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।
हाल बेपत्ता कल्पना साउदको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











