डाेटी, साउन १०– देशभर मनसुनी वायु सक्रिय रहेकाले विभिन्न प्रदेशमा वर्षाको क्रम जारी रहने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि अन्य अधिकांश भूभागमा बादल लागेको छ। हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसममा आएको परिवर्तनका कारण बाढी, पहिरो, डुबान तथा चट्याङको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। साथै प्रतिकूल मौसमले कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागले नियमित मौसम सूचना अनुसरण गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।











