डोटी । कञ्चनपुर जिल्ला कारागारबाट फरार रहेका एक कैदीलाई डोटी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–३ सेगुनी निवासी ४७ वर्षीय रुद्र भुललाई मंगलबार बिहान पक्राउ गरिएको हो। उनी ज्यान मार्ने उद्योग मुद्दामा सजाय भोगिरहेका कैदी हुन्।
प्रहरीका अनुसार रुद्र भुल २०८२ भदौ २४ गते कञ्चनपुर जिल्ला कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी लामो समयदेखि लुकीछिपी बस्दै आएका थिए।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जोरायलबाट प्रहरी नायब निरीक्षक पदमसिंह साउदको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका भुललाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।











