सिलगढी /सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाबाट अदालतको फैसला कार्यान्वयनका क्रममा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।
कैलालीमा जिल्ला अदालतको फैसलाअनुसार लेनदेन साँवा–ब्याज भराइपाऊँ मुद्दामा एक वर्ष कैद सजाय तोकिएका कैलारी गाउँपालिका–४ भितरियाका ४४ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले बिहीबार उनकै निवासबाट पक्राउ गरेको छ।
यस्तै कञ्चनपुरमा बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–५ झिलमिलाका ३५ वर्षीय अमरसिंह रानालाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ।
त्यसैगरी बाजुरामा सवारी ज्यान मुद्दामा दुई महिना १० दिन कैद सजाय तथा चार हजार रुपैयाँ जरिवाना तोकिएका बुढीगंगा नगरपालिका–६ निवासी २६ वर्षीय प्रकाशबहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनालाई सम्बन्धित अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।











