भदौ ३१, डोटी / डोटीको पूर्वीचौकी गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक शिक्षक घाइते भएका छन्।
पूर्वीचौकी गाउँपालिका–२ भारतोलीस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३४ वर्षीय हरिप्रसाद चौधरी बिहीबार बिहान पूजा गरेर फर्किने क्रममा भालुको आक्रमणमा परेका हुन्।
कैलालीको भजनी नगरपालिका–३ घर भएका चौधरी हाल भारतोलीमा बस्दै आएका छन्। बिहान करिब ६ः५३ बजे पूजा सकेर फर्किने क्रममा बाटोमा भेटिएको भालुले आक्रमण गर्दा उनको पेट र दुवै हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते चौधरीलाई स्थानीयको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ । बिहान ८ः४० बजे अस्पताल पुर्याइएका उनको अवस्था सामान्य रहेको अस्पतालमा खटिएका प्रहरी सहायक हवल्दार मोहनबहादुर रोकायाले जानकारी दिएको प्रहरीले जनाएको छ।











