डोटी । डोटीको जोरायल गाउँपालिका–१ घोरडीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहीबार राति करिव ११:३० बजेकाे समयमा कमल थापाको काठ र माटोले बनेको खरले छाएको एकतले दुई कोठे घरमा सोलारको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, काठका फर्निचर तथा नगद १० हजार रुपैयाँसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबाट करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक लछी नाथको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीपछि तीन सदस्यीय परिवार छिमेकीको घरमा सुरक्षित बसेको प्रहरीले जनाएको छ।











