डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
बिहीबार दिउँसो धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४१८८ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१०१३ प १६४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालकको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चालकको नाम–थर भने खुल्न बाँकी रहेको छ।
बोलेरो चालक जोरायल गाउँपालिका–२ बुडरका २७ वर्षीय सन्देश विष्ट रहेको प्रहरीले जनाएको छ। घटनापछि दुवै सवारी साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी सहायक निरीक्षक लक्षीनाथको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











