सिलगढी/ देशका विभिन्न क्षेत्रमा आगामी तीन दिनसम्म वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज राति सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
बुधबार पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो दिनको प्रभाव कायम रहने बताइएको छ। यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
पर्सि बिहीबार पनि मौसम अस्थिर रहने अनुमान गरिएको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले चट्याङ, हावाहुरी र वर्षाका कारण जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।











