कैलाली /कैलाली को गोदावरी नगरपालिका–१ की एक महिला भारत–नेपाल सीमा क्षेत्रमा कपडा तस्करी गर्दै गर्दा पक्राउ परेकी छन्।
भारतको गौरीफन्टा क्षेत्रमा सञ्चालन भइरहेको ‘कवच योजना’ अन्तर्गत भारतीय प्रहरी र सीमा सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार १८ मे २०२६ मा पलिया–गौरीफन्टा सडकखण्डअन्तर्गत जंगलको कच्ची बाटो हुँदै नेपालतर्फ आउँदै गरेकी बिस्ना भट्टलाई जाँचका क्रममा पक्राउ गरिएको हो।
उनको साथबाट पाँच बोरा कपडा बरामद गरिएको छ। बरामद सामग्रीमा १५९ थान महिलाका सुट, ११ थान साडी र १२ थान फ्रक रहेका छन्। बरामद कपडाको अनुमानित मूल्य करिब ९५ हजार रुपैयाँ रहेको भारतीय प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी कस्टम कार्यालय गौरीफन्टामा बुझाइएको छ। घटनाबारे थप कारबाही भइरहेको बताइएको छ।











