कञ्चनपुर /कञ्चनपुरमा ९६ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समितिले संकलन गरेको विवरणअनुसार आयोग विघटन हुनु अघि उक्त परिवारलाई पुर्जा हस्तान्तरण गरिएको हो।
समितिका अनुसार जिल्लाभर चार हजार ९८५ वटा लगत संकलन गरिएको थियो। तीमध्ये सबैभन्दा धेरै बेदकोट नगरपालिका मा ९१ परिवारलाई लालपुर्जा वितरण गरिएको छ। यस्तै बेलडाँडी गाउँपालिका मा पाँच परिवारले लालपुर्जा प्राप्त गरेका छन्।
कार्यालय प्रमुख नेत्रप्रकाश पन्तका अनुसार आयोग विघटनसँगै राजस्व बुझाइसकेका करिब ४०० परिवार लालपुर्जा पाउनबाट वञ्चित भएका छन्। भीमदत्त, कृष्णपुर र दोधाराचाँदनी नगरपालिकामा तयार भइसकेका सयौं पुर्जा वितरणको काम पनि रोकिएको छ।
जिल्लामा हाल दुई हजार ७७२ भूमिहीन दलित, चार हजार ६८ भूमिहीन सुकुमवासी र ६७ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ। आयोग विघटनका कारण उनीहरूको लालपुर्जा प्राप्त गर्ने प्रक्रिया अन्योलमा परेको छ।











