सिलगढी / मौसम पूर्वानुमान महाशाखा ले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ।
आज दिउँसो पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका उच्च भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसममा आएको परिवर्तनका कारण चट्याङ, वर्षा र हिमपातबाट जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











