सिलगढी /हाल देशमा पश्चिमी स्थानीय वायुसँगै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनअनुसार यस प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा अन्य केही भू–भागमा तातो दिन रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।











