कैलाली / सुदूरपश्चिम प्रदेश सभा को सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु हुँदैछ। प्रदेश सरकारको सिफारिसमा नजिर मियाँ ले अधिवेशन आह्वान गरेका हुन्। गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाह ले नेपालको संविधानको धारा १८३ को उपधारा (९) बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए।
उक्त सिफारिस अनुमोदन गर्दै प्रदेश प्रमुख मियाँले अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएका हुन्। यससँगै सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुनेछ।
यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो। त्यसपछि लामो समयसम्म अधिवेशन नबस्दा प्रदेश सभाको गतिविधि प्रभावहीन जस्तै बनेको थियो। विशेषगरी ‘जेन–जी आन्दोलन’पछि प्रदेश सभा निष्क्रियजस्तै देखिएको थियो, जसले नीति तथा कानुन निर्माण प्रक्रियामा असर पारेको बताइन्छ।
अब सुरु हुने अधिवेशनबाट प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी तथा विभिन्न विधेयकहरू अघि बढाइने अपेक्षा गरिएको छ। साथै, प्रदेशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा गहन छलफल हुने विश्वास गरिएको छ।











