सिलगढी /जल तथा मौसम विज्ञान विभाग का अनुसार आज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् रोजन लामिछाने का अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा भने हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यसैगरी बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।











