कैलाली / कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खाल्डोमा पल्टिएको थियो। दुर्घटनामा स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते भएका छन्।
घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बसमा सवार अन्य केही यात्रुहरूलाई पनि सामान्य चोट लागेको छ र उनीहरूको स्थानीय अस्पतालमै उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार चालकले पैदलयात्रीलाई जोगाउने प्रयास गर्दा बस विपरीत दिशातर्फ मोडिँदै दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ











