मनमाेहन ठकुल्ला
सिलगढी
डाेटीकाे दिपायल सिलगढी नगरपालिकामा महिलाको आर्थिक सशक्तीकरण र लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले व्यवसाय औपचारिकरण तथा व्यवसाय योजना निर्माण सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ।
दिपायल सिलगढी नगरपालिका, युएनएफपीए र पिसविन नेपालको सहकार्यमा सञ्चालन भइरहेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो। कार्यक्रमअन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नं. १, ३ र ८ मा विगत दुई वर्षदेखि विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। आइतबार कार्यक्रम सञ्चालन दिपायल सिलगढी नगरपालिकामा गरिएकाे हाे ।
तालिममा पारिवारिक संवाद कार्यक्रममा आबद्ध २५ जना महिलाहरू सहभागी रहेका थिए। महिलाहरूलाई स्वरोजगारतर्फ अभिमुख गराउँदै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले व्यवसाय योजना निर्माण तथा व्यवसाय औपचारिकरण सम्बन्धी सीप प्रदान गरिएको आयोजकले जनाएको छ।
ग्रामीण समाजमा धेरै महिलाहरू अझै पनि घरेलु कामकाजमा मात्र सीमित रहँदा विभिन्न प्रकारका विभेद तथा लैङ्गिक हिंसाको जोखिममा पर्ने अवस्था देखिन्छ। यस्तो अवस्थाको अन्त्य गर्न महिलाहरू आर्थिक रूपमा सशक्त हुन आवश्यक रहेको कार्यक्रमका आयोजकहरूले बताएका छन्।
‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत परिवारका सदस्यहरूबीच संवाद, सचेतना र आर्थिक सशक्तीकरणका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। पारिवारिक संवाद कार्यक्रममा सहभागी परिवारका सदस्यहरूको सक्रियतासँगै महिलाहरूलाई व्यवसायतर्फ प्रेरित गर्न तालिम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन दिपायल सिलगढी नगरपालिकाकी नगर उपप्रमुख कलावती महर साउँदले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा विपन्न र सीमान्तकृत समुदायका महिलाहरूको सहभागिता रहेको थियो।
“तीन दिनसम्म सञ्चालन हुने तालिमले सहभागी महिलाहरूलाई साना व्यवसाय सञ्चालन गर्न तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको जुद्व रावल बताउछन् ।”











