कैलाली — मंगलबार साँझ होली मनाउने क्रममा धनगढी–१३ स्थित एक बस्तीमा दुई पक्षबीच सुरु भएको सामान्य भनाभन झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि नै आक्रमण भएको छ। घटनामा संलग्न आशंकामा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार बालबालिकाबीचको विवाद चर्किंदै जाँदा ठूला व्यक्तिहरू समेत मिसिएपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति सम्हाल्न खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार भएको र भीड अनियन्त्रित बनेपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरी अवस्था नियन्त्रणमा लिएको बताइएको छ। घटनाका क्रममा प्रहरीको सवारी साधनमा पनि क्षति पुगेको छ।
घटनामा घाइते भएका असई डबल साउदको टाउकोमा गहिरो चोट लागेको छ। उनको उपचार माया मेट्रो अस्पताल मा भइरहेको छ र अवस्था चिन्ताजनक रहेको स्रोतले जनाएको छ। इन्स्पेक्टर बलराम पाण्डेसहित अन्य दुई जना घाइतेको पनि सोही अस्पतालमा उपचार जारी छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाको प्रकृति योजनाबद्ध आक्रमण हो वा तत्कालीन उत्तेजनाको परिणाम हो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ। थप हिंसा भड्किन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।
प्रहरीले स्थानीयसँग संयमता अपनाउन र अफवाह नफैलाउन आग्रह गरेको छ। घटनाबारे थप विवरण अनुसन्धानबाट सार्वजनिक गरिने जनाइएको











