कैलाली — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन्। अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. खगेन्द्रप्रसाद भट्टका अनुसार बुधबार सफल शल्यक्रियामार्फत तीन शिशुको जन्म भएको हो।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरको नेतृत्वमा स्त्रीरोग तथा बाल रोग विशेषज्ञसहितको टोलीले शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। जन्मिएका तीनमध्ये दुई छोरा र एक छोरी रहेका छन्।
अस्पतालका अनुसार दार्चुला घर भएकी ३१ वर्षीया महिलाका यसअघि दुई छोरी रहेका छन्। यो गर्भ पाँच महिनादेखि नै सेती अस्पतालमा नियमित जाँच हुँदै आएको थियो। तीन शिशु भएकाले आठ महिनामै शल्यक्रिया गरेर सुत्केरी गराइएको डा. भट्टले जानकारी दिए।
शल्यक्रियाबाट जन्मिएका तीनै शिशुको तौल दुई किलोग्रामभन्दा केही बढी रहेको छ। तीमध्ये एक शिशुको तौल तुलनात्मक रूपमा कम भएकाले एनआइसियूमा राखिएको छ। आमा र तीनै शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अस्पतालले तीनै शिशु र आमाको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको जनाएको छ।











