धादिङ / गए राति करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको छ।
दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरिको कमाण्डमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ।
मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको छ भने दुर्घटनाको कारण हालसम्म खुलेको छैन।











