बैतडी। बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप राति करिब ११ बजे सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा जिप चालक २६ वर्षीय केशव सिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।
मृतकको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। आजै पोस्टमार्टम गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। ग्रामीण भित्री सडकमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ।











