धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। उपचारका क्रममा थप दुई जनाको ज्यान गएपछि मृतक संख्या तीन पुगेको हो।
प्रहरीका अनुसार गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका धनगढी–२ का हरिष ओलीको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि उपचाररत गोदावरी–१ का २१ वर्षीय हरिश विक र अन्दाजी २५ वर्षीय योगेन्द्र शाहको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
त्यसैगरी दुर्घटनामा घाइते गोदावरी–६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण, तीव्र गति वा लापरबाहीमध्ये कुन कारणले घटना भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











