बैतडी
बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा चालक घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका–३ अन्तर्गत सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक शनिबार राति करिब ९ः३० बजे सुपप्र०२–००१ज–०६२४ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट खसेको हो।
प्रहरीका अनुसार सवारी साधन सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा गाडी चालक दोगडाकेदार गाउँपालिका–५ निवासी मदन ठगुन्ना घाइते भएका छन्।
घाइते ठगुन्नालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीका इन्चार्ज जयराज जोशीले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।











