कैलाली
कैलालीको गोदावरी नगरपालिका–१ मनहरा क्षेत्रमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
६ लेन सडक पार गर्ने क्रममा साइकलमा सवार ४५ वर्षीय गोपाल रानालाई धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सुप प्र ०१–०११ प ८५८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ का २३ वर्षीय नब्लु राना र पछाडि सवार कृष्णपुर नगरपालिका–६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन्। उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सडक क्रस गर्ने क्रममा साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











