डोटी । डोटीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ। शुक्रबारदेखि माैसममा आएकाे परिवर्तनका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रमा पनि हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ ।
लामो समयदेखि पानी नपरेर सुक्न थालेका हिउँदे बालीपछि हिमपात हुँदा किसानहरू आंशिक रूपमा खुसी देखिएका छन्। हिउँ परेपछि जमिनमा चिस्यान बढ्ने र केही राहत मिल्ने अपेक्षा किसानको छ।
तर, लेकाली र ओँलका सुख्खा क्षेत्रमा भने ढिलो हिमपात हुँदा गहुँबाली पहिले नै सुकिसकेको किसानहरूले बताएका छन्।
पूर्वीचौकी गाउँपालिका–२ का किसान गोरख ठकुल्लाका अनुसार कात्तिक महिनादेखि पानी नपर्दा गहुँलगायत हिउँदे बाली सुक्न थालेका थिए।
“अब हिउँ परेर खासै फाइदा हुँदैन,” उनले भने, “सुक्ने खेती त सुकिसक्यो, उल्टै अब बालीमा रोग लाग्ने डर छ।”
यस वर्ष समयमै वर्षा र हिमपात नहुँदा खेतीपातीमा ठूलो क्षति पुगेको किसानहरूको गुनासो छ। ढिलो भएको हिमपातले राहतभन्दा पनि चिन्ता थपेको उनीहरूको भनाइ छ।











